कर्णालीलाई पदक दिलाउने खेलाडी पुरस्कृत

ललितबहादुर बुढा

सुर्खेत चैत ९ । कर्णाली प्रदेशलाई विभिन्न पदक दिलाउने खेलाडी पुरस्कृत भएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

कर्णालीलाई विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीहरू सम्मानित भएका छन्।

सन् २०२१ मा भारतको सिक्किममा सम्पन्न स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्तीलाई नगद दुईलाख र गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाण्डौमा भएको साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता सुर्खेतका दीपक हमाल र एथलेटिक्समा स्वर्ण विजेता जुम्लाका दुर्गबहादुर बुढालाई दुई–दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने चार जनालाई एक लाख ५० हजारका दरले र कास्य पदक जित्ने ११ जना खेलाडीलाई एक लाख रुपैयाँका दरले पुरस्कार वितरण गरिएको छ। काठमाडौंमा सम्पन्न १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णालीलाई स्वर्ण दिलाउने सुर्खेतका सुरेश चौधरी र अजय विक तथा कालिकोटका भावना फर्साललाई २० हजार रुपैयाँका दरले पुरस्कार उपलब्ध गराइएको छ।

सोही प्रतियोगितामा रजत दिलाउने सात जना खेलाडीलाई १५ हजारका दरले र कास्य पदक दिलाउने १६ जनालाई १० हजारका दरले पुरस्कार वितरण गरिएको हो। कर्णालीलाई पदक दिलाउने खेलाडीको सम्मान र उनीहरूमा थप उत्प्रेरणा बढाउन नगद पुरस्कार उपलब्ध गराइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।

विजेता खेलाडीलाई नगद र प्रमाणपत्र उपलब्ध गराइएको छ। पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै कर्णालीका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णालीमा खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। ‘खेलकुदले पहिचान दिलाउँछ,’ उनले भने,‘हामी कर्णालीलाई खेलकुदको हबको रूपमा विकास गर्न लागि परेका छौं। खेल पूर्वाधारको विकास र खेलाडीको सम्मानमा सरकारले कुनै कमी हुन दिँदैन।’

पूर्वाधार र अभ्यासको अभावमा पनि कर्णालीका खेलाडीले उत्कृष्ट नतिजा हात पारेको भन्दै उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै पदक जित्नेगरी खेलाडीहरू तयार पार्ने बताए।

त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले खेलकुदको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए। खेलाडीको पहिचान र उनीहरूका समस्या समाधान गर्न सकेमा आगामी दिनमा कर्णालीले थुप्रै पदक जित्ने उनको दाबी छ। त्यस्तै परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले विसं २०८१ को मंसिरमा कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न आवश्यक तयारीलाई तीव्रता दिएको बताए। उनले भने, ’हामी १०औं राष्ट्रिय खेलकुद कर्णालीमा सम्पन्न गर्दैछौं। त्यसका लागि खेलाडीको क्षमता विकास र पूर्वाधारको तयारी तीव्र गतिमा भइरहेको छ।’

अन्नपूर्ण पोष्ट दैनिकबाट साभार

https://annapurnapost.com/story/428673/?fbclid=IwAR1hUhycd1JTziyb6sd-D6ZXimnTIbl9SP3iu3h81nYg9qQB_DLC4kAONXY

Next Post

कर्णालीमा पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान

९ चैत्र २०७९, बिहीबार १८:३९
सुर्खेत । कर्णाली खेलकुद विकास परिषद्को सिफारिसमा कर्णाली प्रदेश सरकारले कर्णालीबाट प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्ने खेलाडीहरुलाई विहिवार एक कार्यक्रमका बीच नगद पुरस्कार सहित सम्मान गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष एवं सामाजिक विकास मन्त्री टेकराज पछाईको उपस्थितिमा खेलाडीहरुलाई नगद सहित सम्मान […]