१४ औं राष्ट्रिपति रनिङ सिल्ड नतिजाः कीर्तिमानी स्वर्ण सहित कर्णाली प्रदेश तेस्रो

सुर्खेत । १४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कीर्तिमानी स्वर्ण सहित कर्णाली प्रदेश तेस्रो भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संचालन भएको प्रतियोगितामा १० स्वर्ण, ५ रजत र १६ कास्य पदक गरी जम्मा ३१ पदक प्राप्त गरी कर्णाली प्रदेश १४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा तेस्रो भएको हो ।

१४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्स बिधामा कर्णालीले पहिलो पटक जुनियर राष्ट्रिय कीर्तिमान स्वर्ण पदक जित्न सफल भएको छ । प्रतियोगितामा एथलेटिक्स तर्फ छात्रा ४ गुणा ४ सय मिटर रिलेमा कर्णालीकी भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित टोलीले जुनियर राष्ट्रिय कीर्तिमान स्वर्ण पदक जितेका हुन् ।

उक्त जुनियर राष्ट्रिय कीर्तिमान कर्णालीको टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरेर यस अघि लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा रहेको ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

जुनियरतर्फ कर्णाली प्रदेशले यो पहिलो पटक राष्ट्रिय कीर्तिमानी स्वर्ण पदक जितेको हो ।

यस्तै एथलेटिक्स तर्फ कर्णाली प्रदेशकी कल्पना बुढाले कास्य पदक जितिन् भने छात्र ३ हजार मिटर दौडमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण पदक जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए थिए ।

दोश्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।
१४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको बिजेता भने सुदूरपश्चिम प्रदेश बनेको छ । सुदूरपश्चिम प्रदेशले १९ स्वर्ण, १२ रजत, र १८ कास्य पदक गरी जम्मा ४९ पदक जित्न सफल भएको छ ।

यस्तै दोस्रो स्थानमा रहेको बागमती प्रदेशले १७ स्वर्ण, १३ रजत र १५ कास्य पदक गरी जम्मा ४५ पदक जित्न सफल भएको थियो ।
१४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको नतिजा सार्वजनिक भएसँगै कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेश अब दुई अंङ्कको स्वर्ण पदकमा प्रबेश गरेको बताए । कर्णाली प्रदेशको लक्ष्य भनेको नै दुई अङ्कको स्वर्ण पदको लक्ष्य हो यो पटकको १४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकोबाट कर्णाली प्रदेशले प्रबेश गरेको छ,’ ‘सदस्य सचिव संज्यालले भने,’ ‘यसको लागि सम्पूर्ण खेलाडी व्यवस्थापक र प्रशिक्षकलाई परिषदको तर्फबाट बधाई छ ।’

झिल्को खबर डटकमबाट साभार

Next Post

सुचना तथा जानकारी